८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अनलाइन सञ्चारमाध्यमको दर्ता र नविकरण तत्काल खुला गर्न माग


प्रकाशित: सोमवार, ९ भाद्र २०८२, १७ः१९ बजे
- महानगरखबर

काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।


सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो । 


विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले आगामी भदौ ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र भदौ १३ गतेदेखि सूचना तथा प्रसारण विभागमा कालो व्यानर राखेर धर्ना दिने निर्णय गरेको छ ।


सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधन गरेपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण रोकिएको छ । 


महासंघले यसलाई नागरिकको संवैधानिक हक हनन भएको भन्दै कडा आपत्ति जनाएको छ ।


अनलाइन सञ्चारमाध्यम नवीकरण नहुँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्रसमेत नवीकरण गर्न नसकेको र चाडपर्वको मुखमा विज्ञापन कारोबारमा असहजता सिर्जना भएको पत्रकार महासंघले जनाएको छ ।


बैठकलाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष निर्मला शर्माले दर्ता र नवीकरण तत्काल सुरु गर्न माग गरिन । 


उपाध्यक्ष उमिदप्रसाद बागचन्दले सरकारले कानुनको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाए ।


महासचिव रामप्रसाद दाहालले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण रोक्नु असंवैधानिक भएको दाबी गर्दै सरकारको यस्तो कदमले नागरिकको संवैधानिक हक अवरुद्ध भएको बताए । 
उनले माग सुनुवाइ नभए महासंघले आन्दोलन अझ चर्काउने चेतावनी दिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex