काठमाडौं । शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। त्यसअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ।
त्यसैगरी भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइने र २ घण्टा प्रतिनिधिमूलक धर्ना दिइने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।
यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय इकाईमा पनि प्रतिनिधिमूलक उपस्थितिसहित ध्यानाकर्षण पत्र बुझाइने तथा २ घण्टा धर्ना दिने कार्यक्रम छ।
महासंघले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। दोस्रो चरणमा अवरोधात्मक गतिविधि, विरोध प्रदर्शनलगायतका कडा कार्यक्रम ल्याइने महासंघका नेताहरूले चेतावनी दिएका छन्।
File Pic
Categorized in राष्ट्रिय