काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता केवल गरिबीको रेखामुनि रहेका नागरिकलाई मात्र उपलब्ध गराउनुपर्ने बताएका छन ।
बुधबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री सुडीले नेपालको आर्थिक स्थिति अहिलेको भत्ता वितरण प्रणालीले धान्न नसक्ने भन्दै नीति पुनःपरिचालन गर्नुपर्ने प्रस्ताव अघि सारे ।
उनले उच्च आयस्रोत भएका परिवार र उच्च पदस्थ व्यक्तिका आमाबुबालाई भत्ता दिनुको औचित्य नरहेको बताए ।
“नेपालमा २० प्रतिशत मानिस मात्र गरिबीको रेखामुनि छन्। सामाजिक सुरक्षा भत्ता पहिले त्यही वर्गलाई लक्षित गर्नुपर्छ। विनोद चौधरीका आमाबुबालाई किन सामाजिक सुरक्षा चाहियो? मेरो परिवारलाई पनि किन चाहियो?,” मन्त्री सुडीले प्रश्न गरे ।
उनले भत्ताको रकम बढाएर भए पनि गरिबीको रेखामुनि रहेका २० प्रतिशत नागरिकलाई मात्र दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
“म रकम घटाउन भन्दिनँ, ४ हजार दिनुहुन्छ भने ६ हजार दिनुस्। तर त्यो सबैभन्दा विपन्न वर्गलाई मात्र दिनुपर्छ,” उनले स्पष्ट पारे ।
हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाति र बाल पोषण भत्ता लगायतका शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
Categorized in समाज