काठमाडौं । सरकारले नेवार समुदायको अनिवार्य परिकार यःमरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको छ ।
ललितपुर महानगरपालिकाको संयोजन र सक्रियतामा नेवार समुदायको यःमरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सम्पदाको सूचीमा समावेश गरेको हो ।
मन्त्रालयले गत वर्ष अभौतिक सम्पदा सूचीकरणका लागि आह्वान गर्दा करिब १०५ आवेदन परेका थिए ।
तर, विधि र प्रक्रिया नपुगेका कारण यस वर्ष केवल यःमरी मात्रै छनोटमा परेको मन्त्रालयले जनाएको छ ।
ललितपुर महानगरका १ देखि २९ वडासम्मका नेवार समुदायले दिएको आवेदनलाई मूल्याङ्कन तथा सिफारिस समितिले अध्ययन गरी सिफारिस गरेपछि गत साउन २३ गते मन्त्रालयले निर्णय गरेको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले विज्ञप्ति जारी गर्दै यो सफलता सम्भव बनाउन योगदान पुर्याउने सम्पूर्ण समुदायलाई धन्यवाद दिएका छन ।
‘नेवार समुदाय, विभिन्न खल पुचस् लगायत सबैलाई धेरै धेरै धन्यवाद। सबैको अथक मिहेनत र सकारात्मक सोचकै कारण यो सम्भव भएको हो,’ उनले भनेका छन ।
अभौतिक सम्पदा के हो ?
अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि २०८१ अनुसार, मौखिक परम्परा, सामाजिक व्यवहार, अनुष्ठान, जात्रा–पर्व, अभिनय तथा मञ्चन कला, परम्परागत सीप–प्रविधि, खेलकुद, खाद्य परिकार, पहिरन–आभूषणसम्बन्धी ज्ञान लगायतका १० वटा डोमेन अभौतिक सम्पदामा समावेश हुनेछन ।
यसै कार्यविधिअनुसार कुनै समुदाय, समूह वा परिवारले आफ्नो सांस्कृतिक सम्पदालाई सूचीकरणका लागि आवेदन दिन सक्छ ।
यःमरीको उत्पत्ति
नेपाल भाषामा ‘यःमरी’ को अर्थ ‘मन पर्ने रोटी’ हो । किंवदन्तीअनुसार यःमरी पहिलो पटक काभ्रेको पनौतीमा पकाइयो। एक किसान दम्पतीले काठमाण्डूदेखि आएका ज्वाइँलाई चामलको पिठो र चाकु प्रयोग गरेर विशेष परिकार बनाएर खुवाए, जुन उनले मन पराएपछि यसलाई ‘मन पर्ने रोटी’ अर्थात् यःमरी भनिएको हो ।
हाल यःमरी नेवार समुदायको मात्र नभई काठमाडौं उपत्यकाभर चर्चित परिकारका रूपमा स्थापित भएको छ ।
Categorized in सम्पदा/संस्कृति