काठमाडौं । नेपाल बैंकको नाफा एक वर्षमै १३२ गुणाले बढेको छ ।
बैंकले गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
सार्वजनिक गरिएको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २८ करोड ४२ लाख रुपैयाँ मात्र थियो ।
नाफामा यो ठूलो वृद्धि मुख्यतः खुद ब्याज आम्दानी वृद्धि र नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) कमीका कारण भएको हो ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ८ अर्ब ६३ करोड रुपैयाँबाट बढेर गत आर्थिक वर्ष १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, नोक्सानी व्यवस्थापन रकम अघिल्लो वर्षको ४ अर्ब ७५ करोड रुपैयाँबाट घटेर १ अर्ब ९ करोड रुपैयाँमा झरेको छ ।
नाफासँगै प्रतिसेयर आम्दानी मा पनि उल्लेखनीय सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा १९ पैसा मात्र रहँदा गत वर्ष २५।६८ रुपैयाँ पुगेको छ ।
तर नाफा बढे पनि बैंक लाभांश दिन नसक्ने अवस्थामा छ । वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहँदा प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा ऋणात्मक भएको छ ।
बैंकको निष्क्रिय कर्जा भने थोरै बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४.३३ प्रतिशत रहँदा गत आर्थिक वर्षको असार मसान्तसम्म ४.४७ प्रतिशत पुगेको छ ।
हाल बैंकको प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८१ पैसा र सेयर मूल्य २८२.९२ रुपैयाँ रहेको छ ।
Categorized in बैंक