काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्ने आरोपबारे प्रतिप्रश्न गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको आदेशलाई प्रतिशोधको रुपमा व्याख्या गर्न खोजिएको भन्दै तीन प्रश्न राखे।
“एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका सबैकै हकमा के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो त ? या सरकारले भने जसरी नै अदालत चल्दै आएको हो त ?” ओलीको प्रश्न थियो ।
प्रधानमन्त्रीले लामिछानेबाहेक अन्य थुनामा रहेका व्यक्तिहरूमाथिको रास्वपाको धारणा स्पष्ट पार्न पनि आग्रह गरे ।
“सत्तापक्षका थुनिएका पनि सरकारले नै गरेर हो ? अर्बौँको अपचलनमा थुनामा रहेका सैयौंमध्ये कुन व्यक्तिमाथि प्रतिशोध भएको हो? कुन व्यक्तिको थुना जायज हो ?” उनले भने ।
‘भिडद्वारा न्यायको हत्या नगरोस’
प्रधानमन्त्री ओलीले भिडमार्फत न्यायको हत्या गर्ने र अभियोगमुक्त हुन खोज्ने प्रवृत्तिको समयले सधैं जवाफ माग्ने बताए ।
संसद् बहसलाई अर्थहीन विषयमा मोडेर सामाजिक सञ्जालका लागि कन्टेन्ट उत्पादन गर्ने र समाजलाई उत्तेजनामा भुलाउने प्रवृत्तिबाट सावधान रहन उनले सचेत गराए ।
“संसदलाई झुटा कथा सिर्जना गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ। त्यस्ताको पछाडि लाग्ने भिड अचम्मका मात्रै होइन, दयालाग्दो पनि छ,” उनले भने ।
ओलीले स्वतन्त्र न्यायालयका निर्णय सरकार अनुकूल वा प्रतिकूल जे भए पनि त्यसमा कार्यपालिका हस्तक्षेप नगर्ने प्रष्ट पारे।
“संसद्, सरकार, न्यायालयलगायत लोकतान्त्रिक प्रणालीका सबै अंगलाई पेशेवर मास म्यानुपुलेसनको आक्रमणबाट जोगाउनुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो ।
Categorized in राष्ट्रिय