काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज विश्वासको मत लिँदै छन ।
दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनी आफ्नै पार्टीका नेता बहादुरसिंह लामालाई अविश्वासको प्रस्तावमार्फत पदबाट हटाउँदै सत्तामा पुगेका हुन्। कांग्रेस र नेकपा (एमाले) गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थन प्राप्त बानियाँले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
सत्ता साझेदार कांग्रेस र एमाले दुवैले आफ्ना सांसदलाई ह्वीप जारी गर्दै आजको बैठकमा उपस्थित भई बानियाँको पक्षमा मतदान गर्न निर्देशन दिएका छन ।
Categorized in राष्ट्रिय