काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको आधारमा मुलुकको भाग्य र भविष्य कोर्ने जिम्मा युवाले उठाउनुपर्ने बताएका छन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ अघि बढ्न आह्वान गरे ।
राष्ट्रपति पौडेलले भने, “अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरुको काँधमा छ। युगिन जिम्मेवारी पूरा गर्न तपाईंहरु सक्षम हुनुहुन्छ ।”
उनका अनुसार, विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विस्तारको यस युगमा युवाले चाहेको विकास, सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार हो ।
उनले युवाको विदेश पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता विस्तार तथा प्रवद्र्धन गर्ने नीति प्राथमिकतामा राख्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले सरकारले सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानीको वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको उल्लेख गरे । उनका अनुसार, यसमार्फत प्रविधिमा दक्ष नेपाली युवालाई स्वदेशमै अवसर दिलाउन सकिन्छ ।
Categorized in राष्ट्रिय