काठमाडौं । अन्तिम साउने सोमबारलाई लक्षित गर्दै काठमाडौंको पशुपति क्षेत्रमा प्रहरीले विशेष अपरेशन सञ्चालन गरी ४० जना भन्दा बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४२ जनालाई नियन्त्रणमा लिइएको छ ।
“अहिलेसम्म ४२ जनालाई नियन्त्रणमा लिएका छौं, थपिन सक्छन्,” उनले भने, “दर्शन गर्न आउनेको पाकेटमारी हुन सक्ने र आपराधिक गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएका हौं ।”
प्रहरीका अनुसार, पशुपति क्षेत्रमा ठूलो भीड हुने बेला पाकेटमारीका घटना बढ्ने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। सोमबार पशुपतिनाथ मन्दिरमा देशभरका भक्तजनहरूको ठूलो भीड हुने अपेक्षा गरिएको छ ।
Categorized in समाज