काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ शाखाले स्थानीय सरकारका प्रतिनिधिहरूसँग अन्तरसंवाद गरेको छ ।
शनिबार फोनिजले आयोजना गरेको ‘अधिकार र पहिचानका लागि जनजाति पत्रकारको भूमिका’ विषयक अन्तरसंवादमा स्थानीय जनप्रतिनिधिहरुले मिडियालाई सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता गरेर मुलुकको समृद्धिमा योगदान दिन आग्रह गरेका छन ।

यस अवसरमा वक्ता जनप्रतिनिधिहरुले आदिवासी जनजाति पत्रकारका सवालमा बजेट विनियोजन तथा सहकार्यको आवश्यकता औंल्याए ।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले पत्रकारलाई सबै सूचना औपचारिक रूपमा उपलब्ध गराउन सम्भव नभएकाले कतिपय सूचनाहरू पत्रकारले आफैं खोज्नुपर्ने सुझाव दिइन ।

शङ्खरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठले आदिवासी तथा गैर आदिवासी पत्रकारसँग नगरपालिकाले नियमित समन्वय गरिरहेको बताइन ।
प्रस्तावसहित सहकार्यका लागि आएमा सहयोग गर्न सहज हुने उल्लेख गर्दै उनले आदिवासी पत्रकारको हकहितमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन ।

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले नगरपालिकाका गतिविधि प्रचार–प्रसार गर्न पत्रकारको भूमिका महत्त्वपूर्ण भएको बताउँदै सहकार्य निरन्तर रहने जनाइन्। तर, गलत सूचनासहितका समाचारले कहिलेकाहीँ काममा समस्या ल्याउने भएकाले सावधानी अपनाउन सुझाव दिइन ।
फोनिजका सङ्घीय अध्यक्ष लक्की चौधरीले पत्रकारितामा केही विकृति रहे पनि समग्रमा क्षेत्र जिम्मेवार रहेको धारणा राख्दै गलत समाचारका कारण पाठक–श्रोता समस्यामा पर्ने भएकाले गल्ती सच्याउन तत्पर रहनुपर्ने बताए ।

उनले फोनिजले पत्रकारको पेशागत सुरक्षा, व्यावसायिकता र क्षमता अभिवृद्धिमा निरन्तर काम गरिरहेको जानकारी दिए ।
बौद्ध गुरु कोसिस लामाले पत्रकार जन्माउने मात्र नभई उनीहरूको क्षमता विकासमा जोड दिनुपर्ने सुझाव दिए ।

कार्यक्रमको अन्त्यमा फोनिज अध्यक्ष तथा कार्यक्रम सभापति लामा र फोनिज केन्द्रिय अध्यक्ष लक्की चौधरीले उपप्रमुख अनिता लामा, सान्नानी लामा, समिता श्रेष्ठलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
फोनिज काठमाडौं शाखाका अध्यक्ष भीम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वडा १५ की कार्यवहाक अध्यक्ष मैँयालक्ष्मी महर्जन, फोनिज बागमती प्रदेशका महासचिव राजु नापित, इन्चार्ज सुरेन्द्रभक्त श्रेष्ठ, विभिन्न जिल्ला शाखाका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो ।

कार्यक्रम फोनिज काठमाडौंका सह–सचिव राधिका लो संचालन गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष सुदिना श्रेष्ठ, सचिव रत्नकाजी महर्जन, कोषाध्यक्ष दिपिका सुनवार, सदस्य अजय खड्गी, सिर्जना मगर लगायतको उपस्थिती रहेको थियो ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज