काठमाडौं । आज देशभर वैदिक सनातन धर्मावलम्बीले श्रावण शुक्ल पूर्णिमाको अवसरमा जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्व धूमधामपूर्वक मनाइरहेका छन ।
पूर्णिमाको दिन बिहानैदेखि भक्तजन नदी, पोखरी, ताल, कुण्ड र तलाउमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र (डोरो) धारण गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वास अनुसार यसरी मन्त्रिएको डोरो वा जनैले नकारात्मक शक्तिबाट रक्षा गर्छ ।
पौराणिक कथाअनुसार सत्ययुगमा दानवराज बलीलाई गुरु वृहस्पतिले डोरो बाँधेर सुरक्षित बनाएको प्रसंगबाट यो परम्परा सुरु भएको हो ।
रक्षाबन्धनको बेला गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्र उच्चारण गर्दै रक्षासूत्र बाँध्ने वैदिक चलन आज पनि यथावत छ ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले नयाँ जनै फेर्ने परम्परा छ ।
यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बस्ने, स्नान गर्ने र ऋषिहरुलाई तर्पण गर्ने गरिन्छ। आठ ऋषिलाई पूजा गरिने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
पशुपतिनाथ मन्दिर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती किनार, मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुर, त्रिवेणीधामलगायत देशका प्रमुख तीर्थस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
यस दिन क्वाँटी खाने परम्परा पनि छ। एघार थरी गेडागुडी मिसाएर बनाइने क्वाँटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरलाई तन्दुरुस्त राख्ने आयुर्वेदिक मान्यता छ ।
तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन मनाउने चलन छ। यो परम्परा अहिले पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।
देशका विभिन्न भागमा आज मेलापर्वसँगै धार्मिक र सांस्कृतिक वातावरण निकै उत्साहपूर्ण बनेको छ ।
Categorized in सम्पदा/संस्कृति