काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढीमा परेर कम्तीमा १७ जना नेपाली नागरिक बेपत्ता भएको भएको छ ।
बर्दिया र जाजरकोटका नेपालीहरू सम्पर्कविहीन छन भने थप केही घाइते भएको जनाइएको छन ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, भारतमा रहेका आफन्त र स्थानीय नेपालीहरूमार्फत कम्तीमा ४ जना बेपत्ता र ३ जना घाइते भएको खबर आएको हो ।
“यसबारे मन्त्रालयलाई जानकारी गराइसकिएको छ र दूतावासमार्फत समन्वय भइरहेको छ,” पौडेलले जानकारी दिए ।
१३ भन्दा बढी जाजरकोटबासी सम्पर्कविहीन
जाजरकोटको कुशे गाउँपालिका–२ का कम्तीमा १३ जना र अन्य वडाका केही व्यक्ति समेत सम्पर्कविहीन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरी जनाएका छन ।
“हराएकाहरूको खोजी र उद्धार कार्यमा नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता छ,” अध्यक्ष बस्नेतले भने ।
बेपत्तामध्ये सात जना सिंह परिवारका
बेपत्ता भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले टेलिफोनमार्फत बुबासहित सात जना हराएको जानकारी अध्यक्ष बस्नेतलाई गराएका हुन ।
मधुवनबाट पनि ४ जना बेपत्ता
मधुवन नगरपालिका–६ का नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का, छोरा रोमन खड्का (२ वर्ष) र वडा नम्बर ५ की अमृता परियार पनि पहिरोमा परी बेपत्ता भएका छन ।
मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटका अनुसार उनीहरू वैदेशिक रोजगारीका लागि उत्तराखण्डको पौडी जिल्लाको बाँकुडा गाउँ गएका थिए ।
परिवारका सदस्यहरूले इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा खोजीका लागि निवेदन दिइसकेको भाटले बताए ।
नेपाली दूतावासद्वारा समन्वय
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तराखण्डमा स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताएका छन ।
“बेपत्ताको आधिकारिक विवरण आउन बाँकी छ, परिवारतर्फबाट सूचना प्राप्त भएको हो,” मल्लले भने।
बाढीको असर र उद्धार प्रयास
बुधबार दिउँसो आएको बाढीले उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली बजारमा ठूलो क्षति पुर्याएको छ ।
धराली समुद्री सतहदेखि ३,१०० मिटर उचाइमा अवस्थित चारधाम यात्राको मार्गमा पर्ने ठाउँ हो, जहाँ सुदूरपश्चिमका धेरै नेपालीहरू मजदुरी गर्न जाने गरेका छन ।
भारतीय सञ्चारमाध्यमअनुसार, अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ भने १०० भन्दा बढी बेपत्ता छन । राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर १९० जनाको उद्धार गरिएको जानकारी दिएका छन ।
Categorized in अन्तर्राष्ट्रिय