५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

हनुमानढोकास्थित पुरानो प्रहरी भवन भत्काइने, मच्छिन्द्रनाथको रथ राख्ने पोखरी पुनर्निर्माण हुने


प्रकाशित: बुधवार, २१ साउन २०८२, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । भूकम्पले जिर्ण भएको हनुमानढोकास्थित पुरानो प्रहरी भवन भत्काइने भएको छ । 


२०७२ सालको विनाशकारी भूकम्पपछि रातो स्टिकर टाँगिएको जिल्ला प्रहरी परिसरको उक्त भवन हटाइने निर्णय भएको हो । 


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाबीच भएको छलफलपछि उक्त निर्णयमा पुगेको महानगरले जनाएको छ ।

 


छलफलमा महानगरका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीसहित अन्य अधिकारीहरूको सहभागिता थियो । 


भवन रहेको २ रोपनी क्षेत्रलाई खाली गरी, त्यहाँ मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गरिने छ । यसलाई सांस्कृतिक सम्पदा संरक्षणको एउटा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।


प्रमुख शाहले भने, ‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्व जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परा कायम राख्न यो पोखरी निर्माण आवश्यक छ ।’


ट्राफिक टावर तथा प्रहरी पूर्वाधार निर्माणको तयारी


उक्त छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको नाममा रहेको जग्गामा नयाँ ट्राफिक टावर र आवश्यक भवनहरू निर्माण गर्ने विषयमा पनि सहमति जुटेको छ । 


साइबर ब्युरो र वडाअफिसको स्थानान्तरणबारे पनि छलफल


बैठकमा हाल भोटाहिटीमा रहेको काठमाडौं महानगर–२७ वडा कार्यालयलाई साइबर ब्युरोको भवनमा सार्ने प्रस्ताव पनि छलफलमा आएको छ । 


साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माणाधीन अवस्थामा रहेको र भवन सम्पन्न भएपछि अहिलेको भवन वडा कार्यालयका लागि प्रयोग गरिने बताइएको छ ।


मानव बेचबिखन अनुसन्धानका लागि भवन निर्माण


मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गाको खोजी र महानगरसँगको सहकार्यमा भवन निर्माण गर्ने विषयमा पनि छलफल भएको महानगरले जनाएको छ ।


आईजीपी दीपक थापाले भने, ‘सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक छ। महानगरसँगको सहकार्यले हाम्रा योजनाहरूलाई प्रभावकारी बनाउनेछ।’

asteriskhubs
Home Page Bottom Second


maharjan complex