काठमाडौं । असन क्षेत्रमा भइरहेको ढुंगा छाप्ने सडक निर्माण कार्यमा ढिलाइ हुनुको कारण योजनाबद्ध पूर्वाधार सुधार कार्यका चरणहरूका कारण भएको कापमा– २७का वडा अध्यक्ष योगेशकुमार खड्गी बताएका छन ।
“गत वर्षदेखि नै असन, भोटहिटी र कमलाछी क्षेत्रको समग्र पूर्वाधार सुधार योजना सुरु गरिएको थियो,” वडाध्यक्ष खड्गीले भने, “यस अन्तर्गत पहिला भूमिगत विद्युत लाइन, मेलम्ची खानेपानीको पाइप तथा ढल निकास प्रणालीको काम सम्पन्न गरिएको हो ।”
यसरी ढुंगा छाप्ने काम ढिला भएकोप्रति वडाध्यक्ष खड्गीले सार्वजनिक रूपमा क्षमायाचना समेत गरेका छन ।
स्थानीय बासिन्दा, पैदलयात्री, विद्यार्थी, ज्येष्ठ नागरिक तथा व्यापारीहरूलाई भएको असहजताको लागि क्षमा माग्दै वडाध्यक्ष खड्गीले काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिएका हुन ।
अहिले अन्तिम चरणको ढुंगा छाप्ने कार्य भइरहेको उनले जानकारी दिए ।
ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण असन क्षेत्र — जहाँ नुनदेखि सुनसम्म, जन्मदेखि मृत्युका सबै सामग्री पाइन्छन — काठमाडौंको मौलिक व्यापारिक केन्द्र हो । त्यसैले यो क्षेत्रमा निर्माण कार्य थप जिम्मेवार ढंगले भइरहेको बताइएको छ ।
गाइजात्रा नजिकिँदै गर्दा स्थानीय समितिहरूको आग्रहमा कम्तिमा ईँटाको सोलीङ गरिने र इन्द्रजात्रा अघि सम्पूर्ण ढुंगा छाप्ने कार्य सम्पन्न गरिने ठेकेदारले प्रतिबद्धता जनाइसकेको वडाले जानकारी दिएको छ ।
निर्माण कार्यको क्रममा जनसेवा प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका नगर प्रहरी तथा काठमाडौँ महानगरका सम्बन्धित कर्मचारीहरूसँग निरन्तर समन्वयमा काम भइरहेको वडाले जनाएको छ ।
स्थानीयवासीले भने निर्माण कार्य चाँडो सम्पन्न होस् भन्ने अपेक्षा व्यक्त गरेका छन, ताकि सांस्कृतिक पर्वहरू सहज रूपमा मनाउन सकियोस ।
Categorized in वडा