काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन ।
नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका लामाले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहपछि राजीनामा दिएको बताएका छन ।
पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै उनले भने, पार्टी सभापति देउवाज्यूले पछिल्लो दलगत घटनाक्रमलाई मनन गर्दै आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको थियो ।

पार्टीको एक इमानदार सिपाहीका रूपमा म आज प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाउँदैछु ।
मुख्यमन्त्री लामाले २०८१ साउन ९ गते पदभार ग्रहण गरेका थिए । उनले एक वर्ष ९ दिनसम्म बागमती प्रदेश सरकारको नेतृत्व गरे ।
प्रदेश कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएपछि लामामाथि राजीनामाको दबाव बढेको थियो । बानियाँले २२ मत प्राप्त गरी विजय हासिल गर्दा लामाको पक्षमा १४ मत मात्र परेको थियो ।
यद्यपि, संविधानतः मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने बाध्यता नरहेको दाबी गर्दै लामाले सुरुआतमा राजीनामा नदिने अडान लिएका थिए ।
तर देउवाले काठमाडौं बोलाएर गरेको छलफलपछि उनले आफ्नो निर्णय परिवर्तन गरेका हुन ।
लामा नेपाली कांग्रेसबाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने तामाङ समुदायका पहिलो नेता हुन ।
उनले राजीनामा दिएसँगै अब नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्नेछ ।
दलभित्र सहमति जुटे कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नै नयाँ मुख्यमन्त्री बन्ने प्रवल सम्भावना देखिएको छ ।
Categorized in राष्ट्रिय