काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदक विजेता पलेशा गोबर्धनले मलेसियामा आयोजित दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G4) मा कास्य पदक जितेकी छन ।
मलेसियाको कुचिङमा जुलाई २४ देखि अगस्ट १ सम्म चलेको प्रतियोगितामा उनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै पदक हात पारिन ।
प्रशिक्षक कविराज नेगी लामाका अनुसार पलेशाले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा फहराएकी हुन ।
चीनको सांघाईमा अध्ययनरत पलेशा सोही स्थानबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन ।
प्रतियोगितामा पलेशासहित नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पुरुष ५८ केजीतर्फ भरतसिंह महता, ६३ केजीतर्फ अमिर भ्लोन, तथा महिला ४७ केजीतर्फ कामना प्रसाईं र रेणु तामाङ पनि प्रतियोगितामा सहभागी थिए ।
नेपाल टोलीको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठले सम्हालेका थिए ।
यस पदकले नेपालको पारा खेलकुदको क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।
Categorized in मनोरन्जन