२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मेट्रो ट्राफिक एफएम ९५.५ को १३औँ वार्षिकोत्सव सम्पन्न (फोटो फिचर)


प्रकाशित: विहिवार, ८ साउन २०८२, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जले आफ्नो १३औँ वार्षिकोत्सव एक विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ । 


नेपाल पुलिस हेल्थ क्लब, भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङ रहेका थिए । 


एआईजी तामांगले ट्राफिक एफएमसँग सहकार्य गर्दै जनचेतनामूलक सूचना र सन्देशहरू प्रवाहमा साथ दिने विज्ञापनदाता तथा सूचनादाताहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरे । 



कार्यक्रममा ट्राफिक एफएमका प्रथम स्टेशन म्यानेजर तथा पूर्व प्रहरी उपरीक्षक पवन कुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने २ जना ट्राफिक प्रहरी, र एफएमका ४ जना कर्मचारीलाई प्रशंसा पत्र मार्फत सम्मान गरियो । 


अतिरिक्त महानिरीक्षक तामाङले ट्राफिक व्यवस्थापन, सुरक्षित सवारी आवागमन तथा सामाजिक सद्भावमा एफएमले पुर्‍याएको योगदानको प्रशंसा गर्दै ट्राफिक एफएम अन्य सञ्चारमाध्यमभन्दा भिन्न पहिचान बोकेको उल्लेख गरे । 


कार्यक्रममा एफएमका स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक (इञ्जिनियर) अमरेन्द्र प्रसाद सिंहले अतिथिहरूलाई स्वागत गरेका थिए । 

 


सो अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ट्राफिक एफएमले वर्तमान समयमा पृथक पहिचान बनाएको बताउँदै यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको धारणा व्यक्त गरिन । 


सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर के.सी.ले एफएमसँगको सहकार्य सडक सुरक्षा तथा जनचेतनाका दृष्टिले लाभदायी भएको बताए ।


कार्यक्रममा ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सबैलाई धन्यवाद दिँदै भने,, “आज प्रदान गरिएका सम्मानहरू केबल व्यक्ति वा निकायको नभई ट्राफिक जनचेतना र सहकार्यको सामूहिक पहिचान हो ।”

 


कार्यक्रममा उपत्यकाभरिका प्रहरी अधिकृत, यातायात तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरू, नगरप्रहरी, ट्राफिक एफएमका श्रोता तथा ट्राफिक स्वयमसेवकहरूको उल्लेख्य उपस्थिति थियो । 

एफएमको पृष्ठभूमि
वि.सं. २०६८ पुस २६ गते सञ्चालन अनुमति पाएको मेट्रो ट्राफिक एफएमले २०६९ साल जेठ २५ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको थियो । 
त्यसै वर्षको साउन ८ गतेदेखि नियमित प्रसारण आरम्भ गरेको एफएमले ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा, जनचेतना तथा मनोरञ्जनमूलक कार्यक्रमहरू निरन्तर प्रसारण गर्दै आएको छ ।

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


maharjan complex