८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ताकेता


प्रकाशित: आइतवार, ४ साउन २०८२, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ । 


फैसला कार्यान्वयन निर्देशनालयले गत बिहीबार निर्वाचन आयोगलाई पत्र पठाएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश कार्यान्वयन गर्न आग्रह गरेको हो । 


निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, ताकेता पत्रमार्फत सर्वोच्चको पुरानो आदेश पुनः स्मरण गराइएको हो । 


“ताकेताको अर्थ सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्ने भन्ने हो,” घिमिरेले भने ।


उनका अनुसार यसअघि नै निर्वाचन आयोगले वैदेशिक नेपालीलाई मतदानको अधिकार दिन कानुनी व्यवस्था मिलाउने गरी विधेयक तयार पारेर गृहमन्त्रालयमा पठाइसकेको छ ।


“अब यो ताकेताको सन्दर्भमा आयोगले पुनः गृहमन्त्रालयलाई स्मरण गराउनेछ,” घिमिरेले जानकारी दिए ।


सर्वोच्च अदालतले २०७४ साल चैत ७ गते नै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी र प्राविधिक पूर्वाधार तयार गर्न सरकारलाई आदेश दिएको थियो । 


तर, सात वर्षसम्म पनि सो आदेश कार्यान्वयन नभएकाले निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।


प्रवासी नेपालीले आफ्नो देशको लोकतान्त्रिक प्रक्रियामा सहभागिता जनाउन पाउने हक सुनिश्चित गर्न कानुनी तथा प्राविधिक पहललाई तीव्रता दिनुपर्ने आवाजहरू पनि बलियो बन्दै गएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex