काठमाडौं । शनिबार रातिदेखि नेपालमा मनसुन अझै सक्रिय हुँदै देशभर भारी वर्षा सुरु हुने मौसमविद्हरूले चेतावनी दिएका छन ।
भारतको उत्तरप्रदेश नजिकै रहेको मनसुनी रेखा नेपालतर्फ सर्दै गरेकाले देशका अधिकांश भूभागमा आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सन्जिव अधिकारीका अनुसार आज र भोलि दिउँसोसम्म मौसम सामान्य रहनेछ, तर शनिबार रातिदेखि मनसुन सक्रिय भएर देशका विभिन्न भागमा व्यापक वर्षा गराउने सम्भावना रहेको छ ।
उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा नेपालतिर सर्ने देखिएकाले आगामी दुई दिन देशभर पानी पर्न सक्छ, उनले बताए ।
यसअघि बंगालको खाडीमा बनेको प्रणाली भारतको उडिसा हुँदै बिहारतर्फ सरेपछि तराई–मधेशमा अपेक्षाकृत कम वर्षा भएको थियो ।
तर हालको प्रणाली भने नेपाल नजिकै सर्दै गएकाले प्रभाव बढ्ने अनुमान गरिएको छ ।
३६ जिल्लामा बाढीको मध्यम जोखिम
मौसमको यो अवस्थालाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लाका नदी तटीय क्षेत्रहरूमा बाढीको मध्यम जोखिम रहेको भन्दै ‘एलो अलर्ट’ जारी गरेको छ ।
निरन्तरको वर्षाले केही स्थानमा बाढी र डुबानको जोखिम रहने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलका अनुसार शनिबार दिउँसोसम्म केही स्थानमा हल्का वा मध्यम वर्षा हुन सक्नेछ, तर रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने र सोमबारसम्म देशभर फैलिने सम्भावना रहेको छ ।
अहिलेको प्रणाली पहिलेको भन्दा बढी सक्रिय देखिएको छ । सोमबारसम्मको समय संवेदनशील हुन सक्छ पोखरेलले भने ।
वर्षा तीव्र हुँदै जान सक्ने भएकाले सम्भावित बाढी र पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सचेत रहन तथा आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायले आग्रह गरेका छन ।
Categorized in राष्ट्रिय