काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सत्ता गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार गठबन्धनमा रहेका दलहरूबीचको सहमति कार्यान्वयनमा कमजोरी आएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरिएको हो ।
यसअघि असार ३० गते जसपा अध्यक्ष यादवले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए। दुई दिनभित्रै पार्टीले समर्थन फिर्ता लिएको हो।
भूमि विधेयक र प्याकेज सहमतिको असफल प्रयास
प्रधानमन्त्री ओली र देउवाले भूमि विधेयक पारित गराउन जसपाको सहयोग खोजेका थिए। तर जसपा अध्यक्ष यादवले ‘प्याकेजमै सहमति’ को प्रस्ताव राखेका थिए। सहमति नजुटेपछि पार्टीले समर्थन फिर्ता लिएको बताइएको छ।
भूमि अध्यादेश ल्याउँदा पनि जसपा नेपालले कडा विरोध जनाउँदै आएको थियो। भूमि सम्बन्धी नीति र विधेयक नै समर्थन फिर्ताको मुख्य कारक बनेको स्रोतहरूको भनाइ छ।
सरकारको बहुमतमा असर
प्रतिनिधि सभामा जसपाका ५ जना र राष्ट्रिय सभामा ३ जना सांसद छन्। राष्ट्रिय सभामा सरकारलाई बहुमत पुर्याउन जसपाको साथ महत्वपूर्ण थियो। जसपाको समर्थन फिर्ताले सरकारको बहुमत सन्तुलनमा असर पर्ने देखिएको छ।
नाउपाको समर्थन फिर्ता पछिको दोस्रो झट्का
यसअघि असार २१ गते रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। जसपाको निर्णय पछिल्लो केही दिनमै सरकारलाई परेको दोस्रो राजनीतिक झट्का हो।
Categorized in राष्ट्रिय