ठुलो वर्षाका बीच पनि ललितपुरको प्राचीन उपाकलं सायाः नरसिंह जात्रा धुमधामका साथ सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने उपाकलं सायाः नरसिंह जात्रा आज ललितपुरमा मनाइएको हो ।
यस वर्ष जात्राको पालो पट्को निवासी ध्रुव ज्वालानन्द शुक्ल राजोपाध्यायले चलाएको हुन् । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठीमा ज्येष्ठताको आधारमा पालो चलाईने यस जात्रालाई यसपालि पट्को निवासी ध्रुव ज्वालानन्द शुक्ल राजोपाध्यायको घरबाट संचालन गरिएको हो ।
जात्रा पालोवालाका पुरोहित, ज्वाईँ र भान्जा मध्ये एकलाई नरसिंह बनाउने परम्परा अनुसार यसपाली पालोवाला ध्रुव ज्वालानन्द राजोपाध्यायका ज्वार्ईँ भक्तपुर खौमाटोल निवासी मनिन्द्रराज राजोपाध्यायलाई नरसिंह बनाई ललितपुरको सायाः रुटमा परिक्रमा गराईएको थियो । पालोवालाको निवास पट्को टोलबाट शुरु भएको जात्रा ललितपुरको प्राचीन नगर सायाः रुटको परिक्रमा गरी पट्कोमै पुगेर सम्पन्न भएको हो ।
नरसिंहलाई ५ जोडि अप्सरा, लक्ष्मी, सरस्वती र प्रह्लादको साथमा नगर परिक्रमा गराउने गरिन्छ । अप्सराको जोडिमा दण्ड सहित एक जोडी, त्यसैगरी एक जोडी पंचामृत छर्दै, कुचो सहित एक, चमर पंखासँग एक र लावा अभीरसँगै एक जोडि गरी पाँच जोडि अप्सरा अगाडि हिँड्छन् भने नरसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्छन् । प्रह्लाद भने धूप समाएर नरसिंहतिर हेर्दै उल्टो दिशाबाट पाइला सार्दै हिँड्छन् ।
धिमेय्, भजन समूह, लाखे सहित निकालिएको नरसिह जात्रामा नरसिंह भगवानको दर्शन र पूजाका लागी भक्तजनको ठुलै घुइँचो लागेको थियो । ठुलै वर्षाका वावजुद पनि नरसिंहसँगै नगर परिक्रमा गर्नेहरुको संख्यामा कमी आएको थिएन । साथमा वर्षामा रुझेरै पनि नरसिंहको दर्शन र पूजा गर्नेहरु आउँदै गरेका थिए । विमस्ेटकका पाहुनाहरुको आज ललितपुर भ्रमण कार्यक्रम पनि रहेको हुँदा जात्रालाई केही प्रभाव भने परेको थियो । पाहुनाहरुको भ्रमणका कारण जात्रा केही ढिला शुरु गरिएको थियो ।
यस जात्राको प्राचीनता बारेमा भने स्पष्ट भन्न नसकिने विज्ञहरुको भनाई छ । यस जात्राको ३८७ वर्षसम्मको प्रमाण फेला परिसकेको स्थानीय संस्कृतिविद् साथै नृसिंह जात्रा विज्ञ हेरम्बानन्द राजोपाध्यायले बताउनुभयो । मल्लकालमा राजकिय सम्मान नै पाएको यो जात्रा मल्लकालभन्दा अगाडि नै शुरु भइसकेको तर त्यसभन्दा अगाडिका ऐतिहासिक प्रमाणहरु ईतिहासको कालखण्डमा विभिन्न घटनामा मेटिएको वा मेटाइएको उपाकर्म गुठी ललितपुरले जनाएको छ ।
ललितपुर नगरीमा नरसिंहका दुइ रुप विराजमान छन् । कार्तिक नाचका नरसिंहलाई उग्र रुपको नरसिंहको रुपमा लिइन्छ भने उपाकलं सायाःका नरसिंहलाई शान्त रुपमा लिइन्छ । विश्व शान्तिको कामना सहित चलाइने यो जात्रा सफलतापूर्वक सम्पन्न भएमा दैवी प्रकोप लगायतका घटना, दुर्घटनाबाट मुक्ति पाइने, रोगव्याधी नलाग्ने जनविश्वास समाजमा रहि आएकोछ ।
Categorized in समाज