काठमाडौं । ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सातौं नगरसभाबाट पारित भएको छ ।
शुक्रबार सम्पन्न नगरसभापछि शनिबार बिहान पत्रकार सम्मेलन गरी मेयर चिरिबाबु महर्जनले बजेटबारे जानकारी दिएका हुन् ।
महानगरले आगामी वर्षका लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
कुल बजेटको ६०.३२ प्रतिशत अर्थात् ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ पुँजीगततर्फ छुट्याइएको छ भने प्रशासनिक खर्चतर्फ १ अर्ब ३३ करोड ३ लाख १८ हजार (१७.७९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख (२१.८९ प्रतिशत) विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रममा कुल ३४ वटा क्षेत्रलाई समेट्दै ३८८ वटा नीति समावेश गरिएको छ । बजेटमा विशेषगरी पूर्वाधार र समावेशीतामा जोड दिइएको छ ।
प्रमुख योजनाहरूः
सांस्कृतिक संरक्षणः पाटन दरबार स्क्वायर, बुङ्गमति, खोकना, सुनाकोठी, नागदह, धापाखेल र हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडकको रूपमा विकास गरिनेछ ।
अपांगमैत्री पूर्वाधारः रिङ्गरोडको कुसुन्तीमा नेपालकै पहिलो लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल निर्माण गरिनेछ ।
आकाशे पुलः पाटन अस्पताल अगाडि र धोविघाट चक्रपथमा साइकलसहित प्रयोग गर्न मिल्ने आकाशे पुल निर्माणका लागि बजेट व्यवस्था गरिएको छ ।
यातायात सुधारः लगनखेल बसपार्कलाई सूचनामैत्री, यात्रुमैत्री र व्यवस्थित बनाइनेछ । साथै महानगरभित्र सम्भावना भएका रुटहरूमा साझा बस सञ्चालनका लागि समन्वय गरिनेछ ।
ललितपुर महानगरको ६८ प्रतिशत बजेट खर्च
काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल ६८.१४ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै मेयर चिरिबाबु महर्जनले चालु खर्चको ८५.३२ प्रतिशत, पुँजीगत खर्चको ६०.६२ प्रतिशत र राजस्व संकलनको ७५ प्रतिशत लक्ष्य पूरा भएको जानकारी दिए ।
महानगरको बेरुजु ०.५२ प्रतिशतमा सीमित रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ प्रतिशत र वित्तीय जोखिम मूल्यांकन ९९.५ प्रतिशत पुगेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७४.७१ प्रतिशत रहेको बताइएको छ ।
Categorized in पालिका