काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति लचिलो बनाइएको छ ।
ब्याजदर झरिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिने लक्ष्यका साथ, बजारमा कर्जाको आपूर्ति बढाउनेगरी मौद्रिक नीति ल्याइएको हो ।
नीतिमा निजी क्षेत्रका लागि १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिएको छ ।
यसले उद्योग, व्यापार र लगानीलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ । नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत, बैंक दर ६.५ बाट घटाएर ६ प्रतिशत, र निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाइएको छ ।
प्रमुख व्यवस्थाहरू
१) आवास कर्जा सीमा २ करोडबाट ३ करोड पुर्याइयो । पहिलो घरका लागि कर्जा–मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न पाइने ।
२) सेयर धितो कर्जा सीमा १५ करोडबाट २५ करोड बनाइयो । यसले सेयर बजारमा तरलता बढाउने अपेक्षा ।
३) १० लाखसम्म कृषि तथा व्यवसायिक कर्जामा सुविधा दिइनेछ। साना कर्जामा न्यूनतम कर्जा नोक्सानी व्यवस्थाको छुट मिल्ने ।
४) ३ करोडसम्मको कर्जा साना तथा मझौला उद्यममा समावेश, सस्तो ब्याजमा कर्जा प्रवाहको व्यवस्था ।
५) जलविद्युत क्षेत्रमा प्रवाह हुने कर्जामा ब्याज पुँजीकरण व्यवस्था पुनरावलोकन गरिने ।
६) चेक बाउन्स कारण कालो सूचीमा पर्ने नियममा सहजीकरण गरिने ।
७) विदेश भ्रमणका लागि सटही सीमा २५०० डलरबाट बढाएर ३००० डलर बनाइयो ।
८) नियो बैंक स्थापना प्रक्रिया सुरु गरिने र केवाईसी (KYC) राष्ट्रिय परिचयपत्रसँग जोडिने व्यवस्था गरिने ।
९) बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड बनाइनेछ । यसअघिसम्म व्यक्तिगत सेयर लगानीकर्ताले १५ करोडसम्म सेयर धितोकर्जा लिएकोमा अब २६ करोडसम्म लिन सक्नेछन् ।
Categorized in बैंक