काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक इलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेका छन ।
शनिबार सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) मार्फत मस्कले पार्टी गठनको जानकारी दिएका हुन ।
“तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं,” मस्कको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
उनले प्रविधि, नवप्रवर्तन र देशको आर्थिक विकासलाई प्राथमिकता दिने पार्टी बनाउने बताएका छन ।
ट्रम्पसँग पुनः विवाद
मस्कको घोषणाले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध फेरि चिसिएको देखिएको छ। रिपब्लिकनहरूले पारित गरेको कर र खर्च कटौतीसम्बन्धी विधेयकलाई मस्कले “घृणित र घिनलाग्दो” भन्दै आलोचना गरेका थिए ।
ट्रम्पले भने सो विधेयकलाई “बिग, ब्युटिफुल बिल” भनेर समर्थन गरेका थिए ।
मस्कले सामाजिक सञ्जालमा लेखेका थिए, “यो सांसदहरूको स्वार्थले भरिएको घिनलाग्दो संसदीय खर्च विधेयक हो । यसको पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नुपर्छ।”
यसअघि मस्क र ट्रम्पबीच व्यक्तिगत आक्षेप, गालीगलौज र धम्कीका कारण विवाद चर्किएको थियो । ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइने सरकारी अनुदान कटौती गर्ने चेतावनी दिएका थिए भने मस्कले ट्रम्पलाई महाभियोग लगाउनुपर्ने मागसमेत गरेका थिए ।
अमेरिकी मिडियाको विश्लेषण
वाल स्ट्रिट जर्नल र न्युयोर्क टाइम्सले मस्कको नयाँ पार्टी गठनलाई दुई मुख्य दलको वर्चस्वको वैकल्पिक प्रयासका रूपमा हेरेका छन ।
मस्कले पनि पहिले नै भनेका थिए, “हामीलाई डेमोक्र्याट(रिपब्लिकन युनिपार्टीको विकल्प चाहिएको छ ।”
टेस्लाको मुनाफामा गिरावट
ट्रम्पसँगको निकटता, विवाद र राजनीतिक अस्थिरताका बीच मस्क नेतृत्वको टेस्लाको मुनाफा पनि घटेको छ ।
यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफा ७१ प्रतिशतले घटेर ४० करोड ९० लाख डलरमा झरेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड डलर नाफा कमाएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय