काठमाडौं । नेपालले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।
सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको थियो। नेपालले २९ ओभरमा ८ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो। नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए।
शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन जोडे ।
सिंगापुरका कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए। सिंगापुर टस जितेर पहिले ब्याटिङ गर्न लागेको थियो र ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो।
सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाएका थिए ।
नेपालका अभय यादव र शुशिलबहादुर रावलले सिंगापुरलाई सस्तैमा समेट्नका लागि ३/३ विकेट लिए। शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए।
नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो भने सिंगापुरले हङकङलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो।
यस अघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो।
Categorized in मनोरन्जन