काठमाडौं । चर्चित टक शो कार्यक्रम ‘टफ टक विथ दिलभूषण पाठक’का सञ्चालक पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंमा पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले मुद्दा दर्ता भएको पुष्टि गरे ।
‘आज मुद्दा दर्ता भएको हो,’ काफ्लेले भने।
नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सोही आधारमा मुद्दा दर्ता गरिएको हो । पाठकलाई भने पक्राउ नगरिकनै मुद्दा दर्ता गरिएको हो ।
यसअघि, गत जेठ २८ गते पाठकविरूद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
उनले युट्युबमार्फत हिल्टन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी भिडियो सामग्री प्रसारण गरेका थिए ।
सोही सामग्रीलाई लिएर उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो ।
तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश दिएको थियो ।
अदालतले पत्रकारले सम्प्रेषण गरेका विषयहरूबारे प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने व्यवस्था भएकाले सोही आधारमा अनुसन्धान गर्नु नपर्ने ठहर गरेको थियो ।
यसअघि असार २ गते पनि उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
Categorized in राष्ट्रिय