९ भाद्र २०८३, मंगलबार
Header

एमालेको विधान महाधिवेशन भदौ २० देखि


प्रकाशित: विहिवार, १२ असार २०८२, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेको ५३औं सचिवालय बैठकले पार्टीको दोस्रो विधान महाधिवेशन भदौ २०–२२ मा ललितपुरमा गर्ने निर्णय गरेको छ । 


सचिवालय बैठकले पाँच वटा महत्वपूर्ण प्रस्ताव पारित गर्दै पार्टीको दोस्रो विधान महाधिवेशन निर्णय गरेको हो । 


पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न ५ प्रस्तावहरु पनि पारित गरेको छ । 


पार्टी प्रवक्ता राजेन्द्र गौतमका अनुसार बैठकले सरकारको एक वर्षे कार्यकाललाई प्रभावकारी ठहर गर्दै सुशासन र सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ । साथसाथै, अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक अवस्था, बजेट, पार्टी कार्यदिशाबारे संक्षिप्त जानकारी दिएका थिए।


विधान महाधिवेशनका लागिः


राजनीतिक प्रतिवेदन – अध्यक्ष ओली


विधान संशोधन प्रस्ताव – उपाध्यक्ष विष्णुप्रसाद पौडेल


संगठनात्मक प्रस्ताव – महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको छ ।


बैठकद्वारा पारित पाँच प्रमुख प्रस्तावहरूः


१) इरान–इजरायल युद्धः


खाडी क्षेत्रमा बढ्दो तनावले शान्तिमा खतरा पुर्‍याएको भन्दै बैठकले युद्धविरामको इमान्दारीपूर्ण पालना गर्न आह्वान गरेको छ । त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षाका लागि सरकारलाई सक्रिय कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।


२) भिजिट भिसा प्रकरणः


सरकारद्वारा बनाइएको छानबिन समिति सकारात्मक भए पनि संसदमा जारी अवरोध अनुचित भएको भन्दै बैठकले संसदको मर्यादा कायम राख्न विपक्षी दलहरूलाई सचेत गराएको छ ।


३. ऊर्जा र खानी स्रोतः


दैलेखमा ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास भएको प्रारम्भिक रिपोर्ट उत्साहजनक रहेको बताउँदै बैठकले उक्त परियोजना र धौवादी फलाम खानीलाई तीव्रता दिन सरकारलाई आग्रह गरेको छ ।


४. बाढी–पहिरो र सडक अवरोधः


पूर्व–पश्चिम तथा बीपी राजमार्गका विभिन्न खण्डमा पहिरोले समस्या आएकाले बैठकले ती सडक खुला राख्न सरकारलाई आग्रह गरेको छ। साथै पार्टी कार्यकर्तालाई विपद व्यवस्थापनमा सक्रिय रहन निर्देशन दिइएको छ ।


५) श्रद्धाञ्जलीः


केन्द्रीय सल्लाहकार परिषद सदस्य गणेश पौडेल र स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधनमा बैठकले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।


थप निर्णयहरूः


बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको निलम्बन फुकुवा ।

 
पोलिटब्युरो बैठक साउन २ गते, केन्द्रीय कमिटी बैठक साउन ५ गते । 


सदस्यता नवीकरणको अभिलेखीकरण असार मसान्तभित्र टुंग्याउन निर्देशन दिएको छ । 


बैठक पार्टी अध्यक्ष केपी शर्मा आलीको अध्यक्षतामा च्यासल केन्द्रिय कार्यालयमा बसेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex