काठमाडौं । बुधबार राति काठमाडौँको टोखा क्षेत्रस्थित विष्णुमती खोलामा आएको बाढीले बगाएको कारबाट एक महिलाको सकुशल उद्धार गरिएको छ ।
ग्राण्डी अस्पताल नजिकबाट बगाएको सो कारमा सवार दाङ तुलसीपुरकी ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट प्रहरीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो।
बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको ईभी कार अंकुश सिंहले चलाएका थिए । कञ्चनपुर घर भएका सिंह भने खोलामा गाडी फसेलगत्तै बाहिर निस्किएका थिए ।
भावनालाई बगिरहेको कारबाट प्रहरी हबल्दार उमेश लोहनी, समिर विक, जवान सुमन थापा तथा स्थानीय अर्जुन गुरुङ र राजु तामाङले उद्धार गरेका हुन ।
उद्धारका क्रममा अर्जुन र राजु सामान्य घाइते भएका छन ।
प्रहरी नायब उपरीक्षक निरञ्जन थापाको कमाण्डमा ४५ जनाको टोली परिचालन गरिएको थियो ।
राति पौने १२ बजे क्रेनको सहायताले गाडीलाई पनि खोलाबाट निकालिएको छ ।
Categorized in समाज