काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा समेत विविध जनचेतनामूलक कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ ।
हरेक वर्ष जुन २१ का दिन विश्वभर योगका फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घको पहलमा सुरु
सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको महासभाबाट अनुमोदित यस दिवसको सुरुआत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावबाट भएको हो।
नेपालले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामार्फत सर्वप्रथम समर्थन जनाएपछि यो प्रस्तावलाई ऐतिहासिक समर्थन प्राप्त भएको थियो — ९० दिनमै १७७ राष्ट्रबाट अनुमोदन।
नेपालको सन्दर्भमा
नेपालमा योगको अभ्यास भने अझ पुरानै हो। विसं २०३६ माघ १ गते देखि सूर्य उत्तरायणको सुरुआतसँगै नेपालमा योग दिवस मनाउन थालिएको हो। नेपाल संस्कृत विश्वविद्यालयले योग तथा प्राकृतिक चिकित्सा शिक्षालाई संस्थागत गर्दै आएको छ।
वैदिक कालदेखि ऋषिमुनिहरूले हिमालय काखमा विकसित गरेको योग परम्परा समयक्रममा लुप्त हुँदै गएकोमा अहिले पुनः जागरणको प्रयास तीव्र छ ।
दुई मितिमा दिवसको अभ्यास
नेपाल सरकारले विसं २०७२ साउन २८ गते, माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो।
उत्तरायण सुरु हुने दिन माघे सङ्क्रान्तिका दिन (माघ १) लाई ध्यान साधना र योग अभ्यासका लागि विशेष मानिन्छ।
त्यसैले अहिले नेपालमा माघ १ मा राष्ट्रिय र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्परा छ।
Categorized in स्वास्थ्य