२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौँ– १७ वडामा मा स्वास्थ्य प्रवर्धन केन्द्रको भवन उद्घाटन


प्रकाशित: सोमवार, २ असार २०८२, १२ः१४ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १७ मा नयाँ स्वास्थ्य प्रवर्धन केन्द्रको भवन उद्घाटन गरिएको छ ।


 महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले एक कार्यक्रमका बीच शिलापत्र अनावरण गरी भवन उद्घाटन गर्नुभएको हो ।


भवन स्वास्थ्य प्रवर्धन केन्द्र तथा सामुदायिक पुस्तकालय उपभोक्ता समितिले निर्माण गरेको हो । 


समितिका अध्यक्ष उर्मिला कनौजियाले भवनको साँचो वडा सदस्य जितेन्द्र खड्गीलाई हस्तान्तरण गर्नुभएको थियो भने खड्गीले इञ्चार्ज सरस्वती पनेरुलाई भवन हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रवक्ता नविन मानन्धरले स्थानीय जनप्रतिनिधि र समुदायबीचको नजिकको समन्वयले नै भवन निर्माण सम्भव भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा सचेतना र सजगता आवश्यक रहेको बताउनुभयो । 


उहाँले भन्नुुभयो, “जीवनभर कमाएको पैसाले उपचार गर्दा पनि निको बनाउन नसकिने अवस्था आउन दिनु हुँदैन । स्वास्थ्य शिक्षाका कार्यक्रमबाट सस्तो, सरल र सहज सेवा उपलब्ध गराउनुपर्नेछ।”


स्वास्थ्य विभागका प्रमुख दिपक कुमार के.सी.ले अब भाडाको भवनमा सेवाहरू सञ्चालन गर्न नपर्ने भएपछि करदाताको पैसाको सदुपयोग हुने बताउनुभयो । 


छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले थप विशेषज्ञ स्वास्थ्य सेवा थप गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


प्रवर्धन केन्द्रका इञ्चार्ज सरस्वती पनेरुले भवनको भुइँ तलामा ओपीडी, फिजियोथेरापी, डट्स तथा खोप कार्यक्रम सञ्चालन हुने र पहिलो तलामा प्रयोगशाला, औषधी वितरण कक्ष रहने बताउनुभयो । दोस्रो तलामा दुई सय जनाले प्रयोग गर्न सक्ने सभा कक्ष समेत रहेको छ ।


यो भवन काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ कार्यक्रम अन्तर्गत निर्माण गरिएको हो । २०८१ माघ १० गते स्वास्थ्य विभाग र उपभोक्ता समितिबिच सम्झौता भएपछि २०८२ वैशाख मसान्तमा निर्माण सम्पन्न भएको भवनको लागत करिब ८० लाख रुपैयाँ रहेको छ ।


महानगरपालिकाले काठमाडौँका हरेक वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्दै आएको छ । यी केन्द्रबाट उपचारात्मक, प्रवर्धनात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा प्रदान गरिन्छ ।


प्रमुख सेवाहरूमा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु सेवा, क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा, प्रयोगशाला सेवा, रेडियोलोजी लगायतका कार्यक्रमहरू समावेश छन ।


यस नयाँ भवनमार्फत स्थानीयवासीले गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवा नजिकै पाउने विश्वास व्यक्त गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex