काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलन प्रकरणमा संलग्न रहेका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामा पठाउन आदेश दिएको हो। त्यस्तै, अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा राख्ने आदेश दिइएको हो। यसअघि प्रतिवादीहरुको बयान सकिएपछि २० जेठदेखि थुनछेक बहस सुरु गरिएको थियो भने बिहीबार सो बहस सकिएको हो।
तीनकुने घटनासँग सम्बन्धित यस मुद्दामा हालसम्म ३९ जना प्रतिवादी प्रहरी हिरासतमा रहेका थिए। अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये ४ जना नाबालक भएकाले उनीहरूको मुद्दा भक्तपुर पठाइएको थियो।
११ जेठमा मुद्दा दायर भएसँगै निरन्तर काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको थियो। ११ जनालाई आपराधिक उपद्रव सम्बन्धी मुद्दा मात्र लगाइएको थियो र उनीहरू धरौटी बुझाएर रिहा भइसकेका छन्। तर राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँसहित आठ जनालाई कर्तव्य ज्यानसमेतको मुद्दा दायर गरिएको छ ।
हेरौं सुचिः




Categorized in राष्ट्रिय