काठमाडौं । काठमाडौंको मखन गल्लीमा आज विहान भएको आगलागीमा ३ वटा घर जलेको छ ।
सो आगलागीको क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको पहिचान भने हुन सकेको छैन ।
बुधबार बिहान ६ः४५ बजे काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको उक्त घरहरुमा आगलागेको थियो ।
वडा अध्यक्ष विनोदकुमार राजभण्डारीका अनुसार स्थानीय रुकेश श्रेष्ठ, कैलाश श्रेष्ठ, दयाराम श्रेष्ठको घरमा आगलागी भएको हो ।
अहिले घरमा लागेको आगो नियन्त्रणमा आईसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।
आगो निभाउन जुद्धवारूणको दुइटा दमकल, एउटा नेपाली सेनाको, रामहिटी, ललितपुर महानगर र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो।
मखन गल्लीको सुरज आर्केड पछाडि रहेको घरमा खाना पकाउने एलपिजी ग्यास लिक भएर लागेको आगो सँगै रहेको रूकेश श्रेष्ठको पाँच तले घरमा पनि सल्किएको थियो।
आगो नियन्त्रणमा आइसकेका कारण भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज