काठमाडौं । काठमाडौंको आज शिक्षक आन्दोलनको २७ औंदिन पुरा भईसक्दा पनि शिक्षकहरु निरन्तर आन्दोलनमै छ ।
आज सोमवार आन्दोलनलाई समर्थन गर्न नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ अध्यक्ष झलनाथ खनाल बानेश्वर आन्दोलन स्थल पुगेका थिए ।
उनीहरु आन्दोलन स्थाल पुगेपछि केही शिक्षकले नारावाजी गरेपछि उनीहरु फर्किएको थियो ।
‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसद्बाट शिक्षकका माग पूरा गर्नुस्’ भन्दै नाराबाजी गरेपछि उनीहरू फर्किएका हुन । आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो तर नारावाजी भएपछि सम्बोधन हुन सकेन ।
उनीहरूले महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत नेतृत्वसँग भेटेर आन्दोलनमा समर्थन रहेको र सरकारले शिक्षकका माग पूरा गर्नुपर्ने धारणा राखेका थिए ।
सोमबारको प्रतिनिधिसभा बैठकमा पनि शिक्षकका मागबारे सत्ता पक्ष र विपक्षी सांसदहरूले आवाज उठाएका थिए । विपक्षी दलहरूले शिक्षकका मागबारे छलफल गर्न सार्वजनिक महत्त्वको प्रस्तावसमेत दर्ता गराएका छन् ।
यता, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनलाई बदनाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् ।
विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौँमा जारी आन्दोलनको २७ औँ दिन सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आइतबारको आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले घोर भत्र्सना गरेको बताए।
अध्यक्ष सुवेदीले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरूले ढुंगामुढाको अवस्था सिर्जना गरेर प्रहरी दमन गराएको आरोप लगाए ।
उनका अनुसार आइतबारको घटनामा ६२ जना शिक्षक घाइते भएका छन्। ’घाइतेहरू आँखा चिम्लिँदै, खुट्टा खोच्याउँदै , टाउकोमा पट्टी बाँधेर पनि फेरि आन्दोलनको मोर्चामा फर्किएका छन्,’ उनले भने।
उनले भने, ’सत्तामा बस्नेहरू थाकेर भाग्न सक्छन्, तर आन्दोलनमा उत्रिएका शिक्षकहरू माग पूरा नभएसम्म आन्दोलनबाट भाग्दैनन्।’
उनका अनुसार शिक्षकहरूको २४ बुँदे मागमध्ये तत्काल कार्यान्वयन गर्न सकिने १६ बुँदाको कार्यसूची सरकारले तयार पारेको छ र त्यही आधिकारिक दस्ताबेज हो।
शिक्षा ऐन जारी नभएसम्म शिक्षक आन्दोलन नरोकिने अध्यक्ष सुवेदीको भनाई रहेको छ ।
Categorized in राष्ट्रिय