८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा गणतन्त्रवादी र राजतन्त्र पक्षधरको बृहत प्रदर्शन, यस्तो छ जुलुस निस्कने रुट


प्रकाशित: विहिवार, १४ चैत्र २०८१, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । गणतन्त्र र राजतन्त्र पक्षधरले भोली शुक्रवार काठमाडौंमा छुट्टाछुट्टै बृहत प्रदर्शन गर्ने भएको छ । 


गणतन्त्रका पक्षधर समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको छ । विरोधसभामा सहभागी हुन आउनेहरु  काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने भएको छ ।


समाजवादी मोर्चाले विरोध प्रदर्शनमा करिब डेढ लाख मानिस सहभागी हुने अपेक्षा राखेको छ ।


विरोध जुलुस बिहान ११ बजे सुरु हुने मोर्चाको कार्यक्रम अनुसार जुलुसमा सहभागी हुन आउनेहरु कोटेश्वर हुँदै (पूर्वबाट आउनेहरू) बबरमहल, ललितपुर हुँदै (दक्षिणबाट आउनेहरू) कुपण्डोल, कलंकी हुँदै (पश्चिमबाट आउनेहरू) त्रिपूरेश्वर र बालाजु हुँदै (उत्तरपश्चिमबाट आउनेहरू) सोह्रखुट्टेमा भेला हुने जुलुसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने छ ।


यसैगरी मैतीदेव, डिल्लीबजार चोक र शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व एकीकृत समाजवादीले गर्नेछ भने नेपाल कम्युनिस्ट पार्टीले सुन्धारा र नेपाल समाजवादी पार्टीले न्यूरोड गेटबाट निस्कने जुलुसको नेतृत्व गर्नेछ ।


यता राजतन्त्र पक्षधरहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ ।


प्रहरीको यही सुरक्षा रणनीतिअनुसार राजावादीहरुको अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिलबाट हुँदै तीनकुने आउने छ ।

 
यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ ।यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने छ ।


नवराज सुवेदी संयोजकत्वको ’राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ले शुक्रवार हुने सभाको लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनकमान्डर तोकेको छ ।


प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुनेमा ११ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । 


राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गरेको पत्रकार सम्मेलनमा राप्रपा नेता प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शम्शेर राणा पनि सहभागी थिए।


उनीहरूले विभिन्न ठाउँबाट र्‍यालीसमेत गर्ने भएकोले सवारी अस्तब्यस्त हुने सम्भावना छ।


सुरक्षा व्यवस्थापनका लागि काठमाडौंमा शुक्रबार तीन हजारभन्दा बढी प्रहरी खटिनेछन्।


समाजवादी मोर्चाको रुट

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex