काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले समसामयिक विषयमा चर्चा गर्दै सभामुख समक्ष जवाफ मागेका छन ।
सांसद मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले एउटा कुलमान घिसिङलाई हटाए हजारौं कुलमानलाई लिएर आउने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा पुर्याउने कुलमानलाई हटाउने प्रपञ्च सरकारले रचिरहेको बताउँदै उक्त चेतावनी दिएका हुन ।
हरि ढकाल, सांसद
रास्वपाका सांसद हरि ढकालले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गर्न सांसद माग गरेका छन्।
बैठकमा बोल्दै ढकालले सरकारको दबाब र प्रभावमा रहेर संसद सचिवालयले पास खोसेको आरोप लगाएका छन ।
‘संसद् सचिवालयले आज दुई जना पत्रकारको पास खोसेछ। सरकारको दबाब र प्रभावमा रहेर जसरी पास खोसिएको छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ उनले भने।
संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर र तानाशाह बन्दै हो भनेर प्रश्न सोधेका दुई पत्रकारहरूको पास निलम्बन गरेको थियो।
संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ’सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो ।
पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पार्दन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख रहे पनि श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयको भनाइ छ ।
ती पत्रकारहरूलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ ।
ज्ञानेन्द्र शाही, सांसद
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले केपी ओली कपको फाइनल खेलमा दर्शक कुट्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।
सोमबार दशरथ रंगशालामा मछिन्द्र र नेपाल आर्मीबीचको फाइनल खेलमा प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गर्नेमाथि कुटपिट भएको थियो।
शाहीले प्रहरीले पीडितलाई बचाउनुपर्नेमा उल्टै कुटपिट गर्नेलाई सघाएको पनि आरोप लगाए ।
’खुल्लमखुल्ला भन्नुस् पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस्, हामी पनि तयार भएर बस्छौं यसमा दुई मत छैन,’ उनले भने।
उनले ती मान्छे कुट्नेलाई कारबाही नभए सडक र संसद दुवै ठाउँमा आवाज उठाइने बताए ।
शिशिर खनाल, सांसद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के तपाईं हिटलर बन्दै हो भन्दै प्रश्न गरेका छन्।
बैठकमा बोल्दै सांसद खनालले प्रधानमन्त्रीलाई के तपाईं हिटलर हो भनेर प्रश्न सोधेकै भरमा संसद छिर्ने पास निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन ।
‘के तपाईं हिटलर हो? भनेर प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसदले निलम्बन गरेछ । केही दिन अगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुनसक्छ र भनेर प्रश्न सोध्नुभएको थियो। संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो,’ उनले भने।
प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो भनेर सञ्चारकर्मीले प्रश्न सोधेको भन्दै नेकपा (एमाले) का सांसद सूर्य थापाले संसदमा प्रश्न उठाएका थिए। उनले चुनाव जितेर आएको प्रधानमन्त्रीलाई हिटलर बन्न लागेको हो भनेर प्रश्न सोधेकोसमेत बताएका थिए।
रास्वपा सांसद खनालले संसद निरन्तर सत्ताको छाया बन्दै गएको आरोप लगाए। उनले सन् १९३० को जर्मनीको इतिहास पढ्न पनि सुझाव दिए ।
‘हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जतिबेला उनी सरकारमा गएर लोकतान्त्रिक अधिकार कटौती गरे, निरंकुश बने,’ उनले भने।
सुमाना श्रेष्ठ, सांसद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विभिन्न पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नपठाइएकोबारे सरकारसँग जवाफ मागेकी छन्।
बैठकको शून्य समयमा सांसद श्रेष्ठले देशभरिका एक तिहाई पालिकामा र मधेसमा मात्रै ६९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको बताउँदै सामान्य प्रशासन मन्त्रीसँग त्यसबारे जवाफ मागेकी हुन्।
उनले काठमाडौं महानगरपालिका मात्रै नेपाल नभएको बताउँदै अन्य पालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने बताइन्।
सांसद श्रेष्ठले सरकारले आफ्नो ’अकर्मण्यता’ लुकाउन प्रमुख प्रशासकीय अधिकृत नपठाएको हुनसक्ने पनि बताइन्।
’प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि तलब भत्ता दिनुपरेन,’ उनले भनिन्, ’यी सबै धान्न नसक्ने भएकाले यो अर्थतन्त्रको बेहाल अवस्था लुकाउन लागिएको प्रपञ्च हो कि भनेर कताकता मनमा लाग्न थालेको छ।’
5 March 2025, Wednesday
Categorized in राष्ट्रिय