काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताएको छ ।
फागुन ७ गते आज ७५ औं प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्याएको दिन भएको बताएका छन ।
‘फागुन ७ गते, आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो। गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना,’ उनले शुभकामना सन्देशमा भनेका छन्।
प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरूद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत सहिदहरूको स्मरण पनि गरेका छन्।
आज देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।
विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
19 Ferbury 2025, Wednasday
Categorized in राष्ट्रिय