काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको तथ्यांक सार्वजनिक भएको छ ।
गृह मन्त्रायका अनुसार गृह मन्त्रालयका चालु आवको वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको मृत्यु भएको छ ।
अघिल्लो आव ०८०/८१ को साउनदेखि पुससम्म १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो ।
तयसैगरी, गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ ।
गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ ।
विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।
लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा मृत्यु हुनेहरुको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।
त्यसैगरी, मन्त्रालयले सार्वजनिक गरेको आत्महत्याको घट्नामा चालु आवको ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन् ।
गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले आत्महत्या गरेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ ।
वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चालु आवको छ महिनामा १० हजार ७७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार १८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् ।
यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका ७३१ र टिकटकसँग जोडिएका १५३ वटा निवेदन दर्ता भएका छन् ।
आव २०८०/८१ मा कुल १९ हजार ७३०, आव २०७९/८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।
18 Ferbury 2025, Tuesday
Categorized in राष्ट्रिय