काठमाडौं । हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ ।
शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारीको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा गरिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको छ ।
हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पुर्याउन बाधा पुर्याइरहेको आरोप लगाएको छ ।
इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शनिबार हमासले बन्धकहरु रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने र हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका छन् ।
11 Ferbury 2025, Tuesday
Categorized in अन्तर्राष्ट्रिय