२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

खानेपानी मन्त्रालयमा आगलागी, क्षतिग्रस्त कोठाहरु मर्मत गर्न मन्त्री सिंहको निर्देशन


प्रकाशित: शनिवार, २६ माघ २०८१, १४ः३० बजे
- महानगरखवर

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागीका कारण क्षतिग्रस्त खानेपानी मन्त्रालयका कोठाहरू मर्मतसम्भारको कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।


सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएपछि मन्त्री सिंह अनुगमनको क्रममा त्यहाँ पुगेका थिए । 


आगलागी भएका कोठाहरूको स्थलगत अवलोकनपछि उपप्रधानमन्त्री सिंहले तत्कालै मर्मतसम्भार गर्न निर्देशन दिएका हुन् ।


क्षतिग्रस्त कोठा, तस्वीरः रासस

 

 


खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।


उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । 


‘घटनाको क्षति मूल्यांकनसहित सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा सोको पूर्व तयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेश गर्न समितिसमेत गठन गरिएको छ,’ मन्त्री सिंह भने ।


सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex