आधुनिक विश्वका ७ महान् आश्चर्य छान्नका लागि सन् २००० मा थालिएको अभियानका अभियानकर्ताहरूले इन्टरनेट र टेलिफोनबाट प्राप्त भोटिङ्गको आधारमा सन् २००७ को जुलाई ७ तारिकका दिन पोर्चुगलको राजधानी लिस्बनमा नयाँ ७ आश्चर्यहरू घोषणा गरे । ती हुन् – इजिप्टस्थित गिजाको पिरामिड, चीनको ग्रेट वाल, जोर्डनको पेत्रा, रोमको कोलोसियम, मेक्सिकोको चिचेन इत्जा, पेरुको माचु पिचु, भारतको ताज महल र ब्राजिलको क्राइस्ट द रिडिमर सालिक । यस्तै हालै वल्र्ड हेरिटेज साइट भन्ने एक स्वतन्त्र वेबसाइटले गरेको इन्टरनेट मत सर्वेक्षणलाई विल्सन पद्धतिबाट ग्रेडिङ्ग गर्दा सबभन्दा बढी रोमले ४.८४ स्कोर, माचु पिचुले ४.८१ स्कोर, एङ्कर वाटले ४.७७ स्कोर, गिजाको पिरामिडले ४.७६ स्कोर, जोर्डनको पेत्राले ४.७३ स्कोर पाए ।
यसरी दक्षिण अफ्रिकाको देश पेरुको सुदूर भूमिमा पर्ने भए पनि विश्व सम्पदा स्थल माचु पिचुको महत्व स्पष्ट देखिन्छ । कतिपय त माचु पिचु भ्रमण गर्नका लागि नै पेरु पुग्ने गर्दछन् । पेरुको राजधानी लिमाबाट माचु पिचु सम्मको दूरी ५०३ किलोमिटर रहेको छ ।
माचु पिचुलाई इन्काहरूको हराएको शहरको रूपमा चिनाउने गरिएको छ । साँचो कुरा त यो हो कि यो प्राचीन सभ्यताको यस मनमोहक र रहस्यमय शहरको खण्डहर सन् १९११ सम्म आधुनिक विश्वलाई थाहा थिएन । अमेरिकाको येल विश्वविद्यालयमा इतिहास विषयका प्राध्यापक हाइरम बिङ्घम (१८७५–१९५६) चिलीमा भएको एक सम्मेलनमा भाग लिई पेरुको बाटो हुँदै फर्किरहेका थिए । यस जना स्थानीयले उनलाई पुरानो इन्का सभ्यताको शहर चोक्वेक्युराओको भ्रमण गर्नका लागि मनाए । उनी तयार भएर त्यहाँ भ्रमण गरेर आए पछि उनलाई इन्का सभ्यताका बारेमा खोजी गर्ने जाँगर चल्यो । उनी भित्कोस भन्ने इन्काहरूको शहरको खोजीमा पेरु पुगे । एक जना स्थानीय किसानले उनलाई खण्डहर भएको ठाउँमा देखाउन लगे जुन स्थानीय भाषामा माचु पिचु (माचु पिक्चु) भनिन्थ्यो । उनले त्यसैलाई हराइरहेको इन्काको शहरको रूपमा ठम्याए र इन्काहरूको हराएको शहर भनी पछि पुस्तक पनि प्रकाशित गरे । हाइरम बिङ्घम माचु पिचु पुगेको दिन २४ जुलाई १९११ हो । पेरुको कुस्को शहरको पश्चिममा उरुबाम्बा नदी किनारको उँचो पहाडी स्थलमा रहेको छ । हेलिकप्टरबाट यात्रा गर्ने हो भने कस्को शहरबाट माचु पिचुसम्मको दूरी ७५ किलो मिटर मात्र निस्कन्छ । तर यहाँ यस्तो सेवा पाइँदैन र निषेधित पनि छ । त्यसैले बस वा ट्रेनबाट जानुपर्ने हुन्छ । पहाडी क्षेत्र भएका कारण यसको दूरी चाहिँ २३० किलोमिटर जस्तो पर्न आउँछ । तर सबै भन्दा सजिलो उपाय चाहिँ ट्रेन नै हो । यसले झण्डै डेढ घण्टामा कस्कोबाट एन्डीज पर्वतमाला क्षेत्रको माचु पिचु पु¥याइदिन्छ । यहाँ इन्का ट्रेल भनेर लामै ट्रेकिङ रुट पनि छ । आफ्नो समय र रुचि अनुसार कहाँदेखि सुरु गर्ने हो, त्यो आधारमा १ दिनभरदेखि ७ दिनसम्मको रुट रहेको छ । माचुृ पिचु समुद्री सतहभन्दा २४३० मिटर माथि रहेको छ ।
सन् १५३२ मा स्पेनीहरूले यस क्षेत्रमा विजय हासिल गर्न अगाडि ८० वर्षसम्म यो शहर बसेको मानिन्छ । कोलम्बस पूर्वको युगमा इन्काहरूको साम्राज्य हालको अर्जेन्टिना, बोलिभिया, पेरु, चिली, कोलम्बिया र इक्वेडरको दक्षिणी भागमा उत्तरदेखि दक्षिणसम्म लम्बिएर झण्डै २० लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो ।
पुरातत्वविद्हरू माचु पिचु इन्का सम्राट् पाचाकुटीले बनाउन लगाएको हो भनेर मान्दछन् । यहाँ खण्डहरकै रूपमा रहेको भए पनि ढुङ्गाको स्लाब वा हालको प्रिफ्याब जस्तो बनाई खडा गरिएका संरचना यस्तो छ कि त्यो भूकम्प आए पनि घुरघुर हल्लेला तर ढल्ने स्थिति बन्दैन । इन्काहरूको आफ्नो लेख्य भाषा नभएका कारण यहाँको बारे धेरै कुरा जान्न कठिन नै छ, तर कुनै लेख्य भाषा नभएका इन्काहरूको इञ्जिनियरिङ देखेर सबै तीन छक्क पर्छन् ।
माचु पिचुमा इन्काहरूको पहिचान गरिएको छ । यसमध्ये पहिलो इन्टिहुवाताना हो । यसले इन्का सभ्यतामा समयको गणना (घडी र पात्रो) का साथ खगोलीय ज्ञान भएको परिचय प्राप्त हुन्छ । अर्को सूर्यदेवको मन्दिर र तीन झ्याले कोठा हो । भग्न वा खण्डहरको रूपमा रहेको यस स्थललाई पुरानो रूपको अनुमान गरी पुनस्र्थापनाको परियोजना सञ्चालन गरी कार्य भइरहेको छ । सन् १९८१ मा पेरु सरकारले यो क्षेत्रलाई ऐतिहासिक संरक्षित क्षेत्र घोषणा ग¥यो भने युनेस्कोले यसलाई सन् १९८३ मा विश्व सम्पदा सूचीमा सूचीकृत ग¥यो ।
यो क्षेत्रमा गह्रा खेतीको पनि विकास भएको देखिन्छ भने लामा र अल्पक्काहरू पनि प्राचीन कालदेखि नै रहेको देखिएको छ । युनेस्कोले माचु पिचुलाई साँस्कृतिकका साथसाथै प्राकृतिक सम्पदा मानेको छ । यहाँ आउने पर्यटकहरू वर्षेनी बढ्दै गएका छन् । सन् २०१७ मा मात्र यहाँ १४ लाख ११ हजार २७९ पर्यटकले भ्रमण गरेको तथ्याङ्क रहेको छ ।
Categorized in सम्पदा/संस्कृति