काठमाडौं । सरकारले मंगलबारदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र राखेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका निर्देशक तुलसी प्रसाद दाहालका अनुसार अव सेवाग्राहीले नागरिक एपमा भएका सुविधा सहजै प्रयोग गर्न पाउने छन ।
उनका अनुसार नागरिक एपभित्र नेसनल आइडी अप्सनमा गएर आफ्नो परिचयपत्र नम्बर राखेपछि सम्पूर्ण विवरण देखिने निर्देशक दाहालले बताए ।
हालसम्म ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन । अब राष्ट्रिय परिचय पत्र नम्बर (निन) पाएका १ करोड ६१ लाख नागरिकले राहदानी, बैंक अकाउन्ट, टेलिकमको सिमकार्ड लगायतका सेवा सहजै लिन पाउनेछन् ।
हालसम्म २० लाख नागरिकले छापिएर आएको आफ्नो राष्ट्रिय परिचयपत्र भौतिक रुपमै पाइसकेको विभागका अधिकारीहरुले बताएका छन ।
सरकारले २ माघ २०७५ मा नागरिक एप सार्वजनिक गरेको थियो । २०७४ को आम चुनावपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले यो एप निर्माण गरेर प्रयोगमा ल्याएको थियो ।
नागरिक एपबाट सिंहदरबार प्रवेश गर्न आवश्यक पाससमेत लिन सकिने व्यवस्था गर्दैछ ।
नागरिक एपमा स्क्यानको अप्सन आउनेछ र सिंहदरबारको गेटमा टाँसिने क्यूआर कोडमा स्क्यान गरेर पासको आधिकारिकता जाँचेपछि भित्र जान पाइनेछ।
यस्तै नागरिक एपमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतले दिंदै आएको सेवा सुविधाहरु पनि थप हुँदैछ । नागरिक एपबाटै प्रक्रिया पूरा गरेर केही मिनेटमै स्थायी लेखा नम्बर (प्यान) लिन सकिन्छ ।
प्रहरीबाट चारित्रिक प्रमाणपत्र लिन समेत नागरिक एपमा सेवा उपलब्ध गराइसकेको छ भने हेलो सरकारमा आफ्नो गुनासो र उजुरी दर्ता गर्न समेत नगरिक एपमार्फत सेवा दिइएको छ ।
ट्राफिक नियम उल्लंघन गर्दा क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले प्रणालीमा चिट नम्बर, उल्लंघन गरेको नियम र जरिवाना रकम भर्ने सुविधा पाउने छन ।
यस्तो ई–चलानको नोटिफिकेसन (डिजिटल चिट) चालकको नागरिक एपमा आउनेछ । र, त्यहाँ ‘पे नाउ’को अप्सनमा चिट नम्बर राखेर मोबाइल बैंकिङ वा डिजिटल वालेटबाट तुरुन्तै जरिवाना तिर्न सकिनेछ ।
नागरिक एपमा अहिले प्रयोगकर्ताले नागरिकता, राहदानी, लाइसेन्स, प्रेस कार्ड, स्वास्थ्य बीमा कार्ड, शैक्षिक प्रमाणपत्र, मतदाता परिचयपत्र, लोकसेवा, वैदेशिक रोजगारको श्रम स्वीकृत गर्ने प्रणाली, वैदेशिक अध्ययनको लागि नो अब्जेक्सन लिने प्रणाली, प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपाल विद्युत प्राधिकरण तथा केयूकेएलको महशुल प्रणालीलाई लिंक गर्न सक्नेछन् ।
22 January 2025, Wednesday
Categorized in राष्ट्रिय