काठमाडौं । सोमवार २० जनवरी २०२५ का दिन डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहणपछि आयोजित एक भव्य समारोहलाई सम्बोधन गर्दै उनले अमेरिकाको स्वर्णयुग सुरु भएको घोषणा गरे ।
‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ ।’
उनले थपे, ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु हुँदै छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म स्पष्टसँग भन्न चाहन्छु कि सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’
राष्ट्रपति ट्रम्पको शपथ ग्रहणपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ ग्रहण गरे ।
डोनाल्ड ट्रम्पले गरेका भाषणमा देखिएका मुख्य कुराहरु हेर्दा अमेरिकामा अवैध रुपमा आप्रवासी प्रवेशलाई रोक्न मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताए ।
साथै उनले लाखौं अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने प्रक्रिया सुरु गर्ने पनि उल्लेख गरे ।
साथै उनले ‘गल्फ अफ मेक्सिको’को नाम बदलेर ‘गल्फ अफ अमेरिका’ राख्ने पनि बताए ।
उनले पनामा नहरलाई एक मूर्खतापूर्ण उपहारको संज्ञा दिँदै पनामा नहरलाई चीनले चलाइरहेको आरोपसमेत लगाए । ‘हामीले पनामा नहर चीनलाई दिएका होइनौं, हामीले त्यसलाई फर्काउने छौं,’ ट्रम्पले भने ।
ट्रम्पले आफ्नो भाषणमा अमेरिकालाई नयाँ उचाइमा र ठूलो सफलतासम्म पुर्याउने बताए । अमेरिकाको सम्पत्ति बढाउने, आफ्नो क्षेत्र बिस्तार गर्ने र मंगल ग्रहमा पनि अमेरिकी झण्डा फहराउने उनले बताए ।
त्यसैगरी, ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता पनि जनाए । त्यसका लागि सबैलाई जोड्न नेतृत्व गर्ने उनको भनाइ छ ।
ट्रम्पले नेतृत्व गरेपछि रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध रोकिने अनुमान कतिपयले गरिरहेका छन् ।
उनले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जाति र लिङ्गलाई समावेश गर्ने हालको नीति अन्त्य गर्ने बताए । अब केबल महिला र पुरुष गरी दुई मात्र लिङ्ग हुने बताउँदै उनले आजैदेखि अमेरिकाको आधिकारिक नीति हुने घोषणा गरे ।
त्यसैगरी, ट्रम्पले अमेरिकालाई समृद्ध बनाउने क्रममा विदेशबाट आयात हुने सामग्रीमा कर र शुल्क बढाउने समेत बताए ।
साथै उनले मन्त्रिपरिषदबाट महँगी नियन्त्रणका लागि हरसम्भव कोसिस गर्ने र बढ्दो ऊर्जाको आवश्यकता पूर्ति गर्ने बताए ।
संसद भवनमा आक्रमणका दोषीलाई सजाय माफी
ट्रम्पले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिएका छन्।
सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका छन्।
त्यतिबेला राष्ट्रपति निर्वाचनमा डेमोर्क्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न बैठक चलिरहेको हलमा प्रवेश गरी आक्रमण गरेका थिए।
जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेश
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्। यो आदेश कार्यान्वयनमा भने अदालती लडाईं सुरू हुनसक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।
उनले आर्टिफिसियल इन्टेलिजेन्स र विद्युतीय सवारी साधनहरूलाई नियन्त्रण गर्ने नीतिहरूको पनि खारेज गरेका छन ।
डब्लूएचओबाट बाहिरिने घोषणा
अमेरिका फेरि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) बाट बाहिरिने भएको छ । शपथ ग्रहण गरेसँगै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै डब्लूएचओबाट बाहिरिने बताएका हुन् ।
ह्वाइट हाउसमा डब्लूएचओबाट बाहिरिने कागजातमा हस्ताक्षर गर्दै ट्रम्पले भनेका थिए, ’त्यो त ठूलोमध्येकै एक हो ।’
यसअघि पहिलो कार्यकालमा पनि ट्रम्पले डब्लूएचओसँग सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कोरोना महामारीका बेला डब्लूएचओ चीनको ’कठपुतली’ बनेको उनको आरोप छ ।
डब्लूएचओबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णयप्रति जनस्वास्थ्य विज्ञहरू भने असन्तुष्ट छन् । मलेरिया, टिबी, एचआईभी र एड्सजस्ता सरुवा रोगहरूसँगको लडाइँमा अमेरिकी निर्णयले असर पुर्याउन सक्ने उनीहरूको भनाइ छ ।
टिकटकलाई ७५ दिनको समय
शपथग्रहणपछि राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाल्दै टिकटकलाई ७५ दिनसम्मको समय दिने निर्णय गरेका हुन्।
टिकटकले सो प्लेटफर्म अमेरिकालाई बेच्नुपर्ने वा प्रतिबन्ध गर्नुपर्ने बाध्यता छ ।
पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा कंग्रेसबाट पारित भई हस्ताक्षर भएको यो कानुन ७५ दिने अवधिमा लागु नहुने ट्रम्पले बताएका छन्।
राजधानी वाशिङ्टन डीसीमा रहेको संसद भवन यूएस क्यापिटलमा आयोजित शपथग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु, मन्त्रिपरिषदका सदस्य, विभिन्न देशका राष्ट्र प्रमुख वा प्रतिनिधि, व्यापारी लगायतको उपस्थिति थियो ।
21 January 2025, Tuesday
Categorized in अन्तर्राष्ट्रिय