काठमाडौं । सुन्धरास्थित धरहरा चढ्न अब अनलाइनबाटै टिकट लिन पाइने भएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले अहिले अनलाइन र परिसरमै टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरिएको बताए । टिकटका लागि धरहराको वेबसाइट धरहरा डट जीओभी डट एनपी खोलेर धरहरा भ्रमणमा क्लिक गर्नुपर्ने उनले बताए ।
प्रणालीबाट पैसा तिरेर प्रिन्ट गर्ने कागज बन्ने र त्यसलाई लगेर धरहरा प्रवेश गर्ने ठाउँमा देखाउँदा हुने जानकारी दिए ।
टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आईएमई पे छनोट गरी टिकट बुक गर्न सकिने आईएमई पेले जनाएको छ ।
अहिले औषतमा दैनिक १ हजार २ सयले चढ्ने गरेको उनले उल्लख गरे । सार्वजनिक बिदाको दिन २ हजार ३ सयसम्मले एकैदिन धरहरा चढ्ने गरेका छन । १० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
अहिले बिहान १० देखि ४ बजेसम्मका लागि मात्र समय तोकिएको छ । बुधबार भने धरहरा बन्द रहने गरेको छ ।गत मंसिर ९ मा धरहरा चढ्नका लागि शुल्क तोकिएको थियो ।
धरहराको टावर र गार्डेन निर्माण सकेर संविधान दिवसको अवसरमा गत असोज ३ मा धरहरा निःशुल्क खुल्ला गरिएको थियो ।
17 January 2025, Friday
Categorized in प्रबिधि