काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले शुक्रबार पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गरेका हुन ।
सार्वजनिक गरिएका निर्णयहरुमा परराष्ट्रका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष पदावधि थप गर्ने निर्णय भएको हो ।
पुस २६ र २७ गते काठमाडौंमा हुने नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा हुन वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरी बैठकमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने वर्कसप अन इन्हान्सिङ एसआई–सिएसओ इंगेजमेण्ट इन द एएसओएसएआई रिलिजन कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।
फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत दिने निर्णय गरेको मन्त्री गुरूङले बताएका छन्।
प्रवक्ता गुरूङले सरकारले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको बताए ।
10 January 2025, Friday
Categorized in राष्ट्रिय