काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको आदेशपछि थुनामुक्त भएका छन ।
शुक्रवार राती थुनामुक्त भए लगत्तै रविले धेरै लडाईं लड्न बाँकी रहेको भिडियो सन्देशमार्फत् प्रतिक्रिया दिएका छन् ।
अदालतको आदेश अनुसार ६५ लाख धरौटी रकम बुझाएर थुनामुक्त भएपछि भिडियो सन्देशमार्फत् उनले भने, ‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ उनले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’
उनले न्यायप्रणाली प्रति विश्वास बढेको पनि बताएका छन् । ‘न्यायालयप्रति विशेष आभारी छु । न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै ठाउँ प्राप्त गरेकोमा धेरैधेरै धन्यवाद ।’
उनले आफूलाई माया गर्ने सबैलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ उनलाई बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि लामिछाने ८४ दिन हिरासतमा बसेका छन् ।
रविलाई प्रहरीले आज शुक्रवार काठमाडौं ल्याउने भएका छन । लामिछाने र पूर्व डिआइजी छविलाल जोशीविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको आरोपमा मुद्दा दर्ता छ ।
लामिछानेको काठमाडौंमा थुनछेक बहस सकिएपछि अन्य जिल्ला अदालत रूपन्देही, चितवन र पर्सामा पनि उपस्थित हुनुपर्नेछ ।
रविलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाडिएको हो ।
रविविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले शुक्रबार उनी आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । छविलाल जोशी, लीला पछाईं रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। प्रतिवादी लीला पछाईंले भने बिहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।
10 January 2025, Friday
Categorized in सहकारी