काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमवार) चीनको औपचारिक चार दिने भ्रमणमा जाने भएका छन ।
प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका प्रमसोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ ।
हिमालयन एयरलाइन्सको चार्टर विमानमा चीन जान लागेका ओलीको टोलीमा ३९ जना सरकारी भ्रमण टोलीमा र ४७ जना व्यापारिक क्षेत्रबाट रहेका छन् ।
प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समय अनुसार सोमबार बेलुकी साढे ५ बजे पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने छन् ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । साथै, सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै, उनले नेपाल-चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन सोही दिने गर्ने छन् । भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि उड्ने छन् । उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।
Categorized in राष्ट्रिय