काठमाडौं । स्थानीय तहका ४१ रिक्त पदको लागि भोलि (आइतवार) उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूणर् तयारी पूरा भएको जनाएको छ । बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
आयोगका सहसचिव नीता पोखरेल अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, वडा नं १ र ४, काठमाडौं महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५ लगायतको स्थानमा निर्वाचन हुँदैछ ।
आयोगका अनुसार मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइट www.result.election.gov.np मा हेर्न सकिने आयोगले जनाएको छ ।
Categorized in स्थानिय