काठमाडौं । नेकपा एमालले न्यायिक प्रक्रियालाई प्रभावित गरी सडकमा चलिरहेको अन्दोलन अनुचित भएको बताएको छ ।
विहिवार एमालले एक विज्ञप्ती जारी गरी सहकारी ठगीबारे न्यायिक प्रक्रियामा रहेको विषयमा सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु अनुचित भएको जनाएको छ ।
सहकारीको बचत अपचलन र संगठित ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि उक्त पार्टीका नेताहरूले सरकारले प्रतिशोध साँधेको बताउँदै सडक आन्दोलन गरिरहेको छन ।
एमालेले जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहण गरी सरकारलाई कार्यान्वयन गर्न निर्देशन गरेको थियो । उक्त प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिहरूका सन्दर्भमा भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सहयोग गर्नु सबैको साझा कर्तव्य हो ।’
संसदीय छानबिन समितिले सर्वसम्मत रूपमा औल्याएको विषयमा छानबिनको प्रक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका जिम्मेवार व्यक्ति र निकायका विरूद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौच गर्ने र गलत आक्षेप लगाउँदै छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु दुःखद भएको एमालेको भनाइ छ ।
कानूनले अनुसन्धान गर्ने र अभियोजन गर्ने छुट्टाछुट्टै निकायको व्यवस्था गरेको एमालेले उल्लेख गरेको छ ।
राष्ट्र सेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसावले पाँच जना भन्दा बढिको भेला गर्नु गराउनु आफैमा कसुर भएको एमालेले बताएको छ । यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानूनी भएको एमालेको ठहर रहेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले जारी गरेका विज्ञप्तीमा भनिएको छ,‘ नेपाल सरकारलाई त्यस प्रकारको गतिविधि नियन्त्रण गर्न स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार गर्न अनुरोध गर्दछ ।’


Categorized in राष्ट्रिय