काठमाडौं । गत असोज ११ र १२ आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको फोहोर शनिवारबाट ललितपुर महानगरले उठाउने भएको छ ।
बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्ने र उठाउने काम शनिबारदेखि थाल्ने महानगर प्रमुख चिरिबाबु महर्जनले बताएका छन ।
फोहोर संकलन गर्ने कार्यमा दुई हजार भन्दा बढी स्वयंसेवक खटिने महानगरपालिकाले जनाएको छ ।
प्रमुख महर्जनले भने, ‘बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔं, हेर्दा नै लाज लाग्ने गरी छरपष्ट प्लाष्टिक, कागज र कपडा संकलन गरौं, सफा नभएसम्म गर्छौं ।’
प्लास्टिक लगायत फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको तथा नख्खु र बागमती नदी किनारलाई प्लास्टिकले छपक्कै छोप्दा लुगा सुकाए जस्तो देखिएको उनले बताए ।
फोहोर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुर लगायत अन्य जातीय संघसंस्थाले आफ्ना प्रतिनिधि ल्याउने जनाएका छन ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्य बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको सफाई अभियानमा लाग्न आव्हान समेत गरिन ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरेका छन ।
महानगर प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनका अनुसार वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन ।
Categorized in समाज