काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।
बिहान ८ः३० र अपराह्न ४ बजे दुई सिफ्टमा दुईवटा रुटमा बस सञ्चालन गरी यात्रुलाई सेवा दिने प्रहरीले जनाएको छ ।
रुट नम्बर १ मा बिहान र दिउँसो नक्सालबाट गाडी छुट्नेछ । पहिलो रुटको गाडी बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै नक्साल पुग्नेछ ।
दोस्रो रुटको गाडी पनि नक्सालबाटै छुट्नेछ । यो रुटको गाडी रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक पुगेर सोही रुट हुँदै चावहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ ।
त्यसैगरी, सशस्त्र प्रहरीले पनि दशैंमा रिङरोडभित्र उक्त २ दिन निःशुल्क बस सञ्चालन गर्ने भएको हो।

सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको अनुसार आज बिहान ६ बजे बाट सुरू भएको निस्शुल्क बसको पहिलो रूट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ ।
यस्तै अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको छ ।
Categorized in समाज